कुशे सरकारलाई मेरो भन्नु छ !

हुनत उमेरले नाबालिका हुँ । मैले कुरा गर्दा ठुलो कुरा गरेको सोच्नु हुन्छ होला । धेरै भन्ने पक्षमा छैन । कुशे सरकारसंग न मेरो आग्रह छ नपुर्वाग्रह तर एक नागरीक हुनुको नाताले केहि गुनाशो छ । यतिबेला धेरै भन्न गैरहेको छैन कुशे सरकार र कुशेको नेतृत्वदेखि अचम्मित छु । जनताको निम्ती काम गर्ने कुशे सरकारको ब्यवहारदेखि अक्रान्त छु ।

जतिबेला दुनिया कोरोना महामारीले आकुल ब्याकुल थियो म जस्तै थुप्रै जिवनहरु जिन्दगीको भिख मागिरहेका थिए । एकले थुकी सुकी सयौँले थुकी नदि भने जस्तै मैले महामारीको बेला केहि गर्ने प्रयत्न गरे । तर त्यसलाई प्रोत्साहन गर्नु त कहाँ हो कहाँ उल्टै निरुत्साहित गर्ने काम भयो । जनताको दुखप्रति निरह कुशेको सरकार हामी जस्ता नागरीकले गरेको काममा पनि सन्तुष्ट हुन सकेन । सबैको सानो सहयोग लिएर गाउँपालिकामा अभियान चलाउछु सोचे उल्टै पालिकाले उत्साह थप्नुको साटो काम गर्न नदिने बाताबरण तयार गर्यो ।

सानो काम गर्छु कुशे बासिका लागि भनेर बाहिर जिल्लाका सहयोगी मनहरुसंग हात थापेर स्वास्थ्य सामग्री बितरण र उपचार गर्छु भने हाम्रो स्थानीय सरकार कुशे गाउँपालिका आदरणीय ब्याक्तित्व अध्यक्ष हरिचन्द बस्नेत ज्युसंग केही सल्लाह सुझाब सेवाको लागि सहजीकरण गरिदिनु भनेर बारम्बार कुरा गर्दा र बारम्बार उहाँलाई भेट्दा कानमा तेल हालेर बस्नु भयो । सुने पनि नसुने जस्तै गर्नु भयो ।

के स्थानीय सरकारले जनता प्रती गर्ने दायित्व काम यहीँ होत ? म एउटा् १५ बर्षको चेलीले गर्न खोजेको काम अध्यक्ष द्धारा इन्कार गरियो । आफना अनुकुल काम बाहेक अरु सबै ब्लक गरियो । जटिल परिबेशमा नेतृत्वको पहिचान हुने हो । कोरोना काल संभवत जटिल परिबेश थियो । तर त्यो परिबेशमा उहाँ कानमा तेल हालेर बस्नु भयो । जनताको दुखको रमिते बनेर बस्नु भयो ।

ल भन्नुहोस् र सोच्नुहोस अब युवा युवतीहरु अब उहाँबाट हामी र हाम्रा पुस्ताले के को आशा गर्ने ? जबकी जटिल परिबेशमा समेत उहाँलाई कोहि कसैको बिषयमा सोच्ने फुर्सद भएन ।

यो मेरो कुनै पुर्वाग्रह होइन । सुनेको छु फेरि उहाँ चुनावी नारा लिएर गाउँ गाउँ डुलिरहनु भएको छ रे ? कुशेका जनताले यो ५ बर्षको अबधीमा राम्रोसंग चिनिसकेका छन । उहाँले म यस्तो उस्तो भनेर चिनाउन गाउँ गाउँ दुख गर्नु पर्दैन । जनता प्रतिको उहाँको बफादारीता कति भन्ने कुरा सबैलाई जानकारी नै छ । त्यसैले उहाँको खोक्रा कुरामा कोहि पत्याइ हाल्ने अवस्था पनि छैन ।

र सोच्ने बेला आएको छ अब चुनाब नजिकै आएको छ हामिले अब निर्णय गर्नेबेला आएको छ । गाउँ गाउँ बस्ती बस्तीका मानिस युवा युवतीहरु जाग्नुपर्छ । जनताको इच्छा चाहाना अनुसार काम गर्ने जनप्रतिनिधिलाई अब हामिले कुन र कसरी जिताउने र नेता भन्ने सबैले सोच्ने बेला यहि हो । नेता भनेको गरिब जनताको कुरा सुन्ने इच्छा चाहाना अनुसार काम गर्ने नेता चाहिको हो ।

मलाई यो पार्टी त्यो पार्टीले जितोस भन्ने केही छैन काङ्ग्रेस पार्टी बिजय भए पनि एमाले पार्टी बिजय भए पनि समाजवादी बिजय भएपनि माओवादी बिजय भएपनि कुशेमा बिकास गर्नु पर्ने जनताको कुरा सुन्ने नेता चाहेको हो । कुशेको समग्र बिकासको खाका भएको दुरदर्शि नेताको जरुरत छ । आफन्तको भोटो फेर्ने नेता भन्दा कुशेका समग्र जनताको भोटो र रोटो फेर्ने नेतृत्वको जरुरत छ ।

कुशे सरकार समग्र कुशेका जनताको सरकारको हो की सिमित मान्छेको हो । समिक्षा गर्ने बेला आएको छ । सिमित आफन्तको पोल्टाको काम गर्ने बर्तमान कुशेको सरकारबाट हामीले कुशेको समृद्धी चाहानु महाभुल साबित हुनेछ । यसकारण यो चुनावमा सबै जनताले गम्भिर भएर सोच्नुपर्ने बेला आएको छ । डोजरे सरकारको आयु छोटयाउने या लम्ब्याउने त्यो तपाँई हाम्रो हातमा छ ।