कांग्रेस-एमाले दुबैलाई रछ्यानमा पुर्‍याउने तागत हामीसँग छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारी गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्र वागमती प्रदेश समितिस्तरीय राजनैतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा बुधबार दाहालले अब केही समय गठबन्धनको कुरा साइडमा राखेर आफ्नै खुट्टामा उभिएर लड्ने तयारीमा जुट्नुपर्ने बताएका छन् ।

चुनाव मात्रै नभई परिआए युद्ध लड्ने गरी तयारीमा जुट्नुपर्ने प्रचण्डको भनाइ थियो । ‘पोहोरदेखि जाग्न थालेका छौं, अब पूरै जाग्नु पर्नेछ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक प्रदेश कमिटी सदस्यले भने, ‘चुनाव मात्र हैन, परिआए युद्ध नै लड्ने तयारीमा जुट्नु पर्छ ।’

गत निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसलाई सत्तामा आफूहरुले पुर्‍याएको भन्दै प्रचण्डले कतिपय कांग्रेसी नेताले होच्याउने गरेको भन्दै असन्तुष्ट राखे । ‘एकथरी कांग्रेस हामीलाई होच्याएर बोल्छन्, २३ सिट भएकालाई सिंहासनमा पुर्‍याएको हामीले हो,’ प्रचण्डले भने, ‘कांग्रेस-एमाले दुवैलाई रछ्यानमा पुर्‍याउने तागत हामीसँग छ ।’