नेपाल एयरलाइन्सले पायो साउदीको उडान अनुमति

काठमाडौं । नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको छ । निगमले सोमबार साउदी अरेबियाको रियादस्थित सामान्य नागरिक उड्डयन प्रधिकरण कार्यालयबाट औपचारिक रुपमा उडान अनुमति प्राप्त गरेको हो ।

प्रधिकरणले साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति दिएको हो । यस उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने छ ।

निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं- रियाद-काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन् ।