फर्जी भोट खसेपछि नेपाली कांग्रेस निर्वाचन रद्द

मतपत्र जलाइयो

बारा, फर्जी मत खसेको भन्दै विवाद बढेपछि नेपाली कांग्रेस बाराको निर्वाचन नै रद्द गरिएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कलैयास्थित सिद्धेश्वर संस्कृत मावि परिसरमा शनिबार भएको मतदानका क्रममा बेलुकी साढे ७ बजेतिर विवाद भएपछि निर्वाचन रद्द गरी स्थगित गरिएको हो ।

एक पक्षले मतपत्र कब्जा लिएर फर्जी मत खसालेको भन्दै अर्को पक्षले विवाद झिकेर नाराबाजी गरेपछि निर्वाचन नै रद्द हुन पुगेको हो । कांग्रेसका केही नेता-कार्यकर्ताले मतपत्र कब्जा लिएर फर्जी मत खसालेको विषयमा विवाद भएपछि निर्वाचन रद्द गरिएको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।

मतपेटिकामा खसिसकेका करिब एक हजार तीन सय मतपत्रमा आगो लगाइएको जानकारी पनि उनले दिए । उप्रेतीका अनुसार निर्वाचन क्षेत्र नम्बर-२ को बुथमा फर्जी मत खसेको विषयमा विवाद भएको र अनुगमन गर्दा अमर्यादित र उच्श्रृङ्खल गतिविधि भएको थियो ।

फागुन १९ गते उम्मेदवारी दर्ता भएपछि मतदानको व्यवस्थापकीय तयारीका लागि कम्तिमा पनि चार दिनको समय चाहिने भनेर आफूले भने पनि उम्मेदवारहरुले नमानेका कारणले समस्या भएको उनले बताएका छन् । स्थगित निर्वाचनका बारेमा आइतबार कांग्रेस बाराको नेतृत्व र उम्मेदवारबीच छलफल गरेर निर्वाचनको अर्को मिति तय गरिने उप्रेतीले जानकारी दिए ।

यसैबीच सभापतिका उम्मेदवार शम्भुबहादुर बुढाथोकी र रामानन्द यादव पक्षले भने सभापतिका अर्का प्रत्यासी कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव पक्षले मतपत्र कब्जा लिएर फर्जी मत खसालेको आरोप लगाएको छ । प्रमुख निर्वाचन अधिकृत उप्रेतीलाई प्रभावमा पारेर राजेशराय यादवले पक्षले निर्वाचनमा धाँधली गरेको बुढाथोकी र रामानन्द यादव पक्षको भनाइ छ ।

कांग्रेस बाराको नेतृत्वका लागि सभापतिमा तीन जना प्रतिस्पर्धामा छन् । तीनै जना नेताले आ-आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेशराय यादव छन् भने शेखर कोइराला र कृष्ण सिटौला पक्षबाट राजेशराय यादवले उम्मेदवारी दिएका हुन् । सात पदाधिकारीसहित ८० पदका लागि २२७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बाराको चार निर्वाचन क्षेत्रबाट गरी कूल मतदाता २,४८१ जना छन् ।