अब टिकटकमा १० मिनेटको भिडियो बनाउन मिल्ने

काठमाडौँ, टिकटकमा अब १० मिनेट लामो भिडियो अपलोड गर्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई सिर्जना र मनोरञ्जनमा थप समय प्रदान गर्न भिडियोको अवधि बढाइएको टिकटकले जनाएको छ ।चिनियाँ टेक जायन्ट टिकटकमा सुरुमा जम्मा १५ सेकेन्डको भिडियो राख्न पाइन्थ्यो । पछि त्यसलाई बढाएर ६० सेकेन्ड पुर्‍याइयो भने गत जुलाइदेखि टिकटकले ३ मिनेट लामो भिडियो अपलोड गर्न सकिने सुविधा दिएको थियो ।

अब भने प्रयोगकर्ताले टिकटकमा एकैपटक १० मिनेट लामो भिडियो राख्न सक्नेछन् । टिकटकका प्रवक्तालाई उदृत गर्दै द भर्जले लेखेको छ, ‘यो नयाँ सुविधाप्रति हामी उत्साहित छौं । यसले विश्वभरका हाम्रा रचनाकारलाई अझ बढी रचनात्मक बन्न सघाउने अपेक्षा गरेका छौं ।’ कम्पनीका अनुसार टिकटकमा मासिक १ अर्ब मानिसले लगइन गर्छन् ।

छोटा भिडियोका लागि चर्चित टिकटकले मूलत: युट्युबसँग प्रतिस्पर्धा गर्न लामो भिडियोतिर लागेको बताइन्छ । छोटा भिडियोहरूबाट आम्दानी गर्न (मनिटाइजेसन) पनि गाह्रो हुन्छ । तसर्थ, युट्युबले झैं टिकटकले पनि लामो भिडियोमार्फत् आफ्ना प्रयोगकतालाई मनिटाइजेसनको अवसर दिन खोजेको बताइन्छ । साथै, पाको पुस्तालाई रिझाउने उसको अर्को मनसाय रहेको प्रविधि विज्ञहरूको धारणा छ ।

टिकटकले भिडियो अवधि लम्ब्याइरहँदा यसका प्रतिस्पर्धीले भने ठीक उल्टो गरिरहेका छन् । जस्तो– इन्स्टाग्रामले रिल्सका रूपमा छोटो भिडियो अपलोड गर्न सकिने सुविधा ल्याएको छ । युट्युबले पनि सर्टस् मार्फत छोटा भिडियोलाई नै स्थान दिन खोजेको छ । स्न्यापच्याटको स्पटलाइट छ, यसमा पनि हालको टिकटकजस्तै विशेषता छ ।