बालकोट बैठक बिनानिष्कर्ष टुंगियो

देउवा-ओली आआफ्नै अडानमा

काठमाडौँ, नेपाली कांग्रेस र एमालेका नेताहरूबीच बालकोटमा शुक्रबारको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नेबारे एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए ।एमालेका नेताहरूले भने १४ जना ‘गैर सांसद्‍’ लाई कारबाही गर्ने वा सभामुखको राजीनामाको अडान दोहोर्‍याएका थिए । यद्यपि अब छिट्टै अर्को बैठक बस्ने सहमति भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले भने पहिले एमसीसीलाई अनुमोदन गर्ने र त्यसपछि अन्य विषयमा छलफल गरेर अगाडि बढ्ने प्रस्ताव एमाले नेताहरूलाई गरेका थिए । ‘पहिले एमसीसीलाई अनुमोदन गरौँ त्यसपछि सबै विषयमा छलफल गरेर अगाडि बढौँला,’ प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले भने ।

कांग्रेसको तर्फबाट देउवासहित सञ्चारमन्त्री कार्की, कांग्रेस महामन्त्री गगन थापा र पूर्णबहादुर खड्का बैठकमा सहभागी थिए । एमालेको तर्फबाट भने अध्यक्ष केपी ओलीसहित महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए ।

शुक्रबार साँझ बालकोटस्थित अध्यक्ष ओलीको निजी निवासमा देउवासहित कांग्रेसका नेताहरू पुगेका थिए । त्यसअघि देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमा भेट गरेका थिए । एमसीसी अनुमोदन गर्नेबारे संसद्‍मा दलहरूबीच मतभेद कायमै रहँदा संसद्‍का दुई ठूला दलहरूबीच छलफल भएको हो ।