सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरिएको बताउँदै उनले भने, ‘अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ ।

आवश्यकता हेरेर खास ठाउँमा त्यो विचार पुर्‍याएर हामी लकडाउन गर्नेछौँ । सजिलैसँग लकडाउनमा जाँदैनौँ । आवश्यकताअनुसार ठाउँ विशेष गर्न सक्छौँ । त्यसैले तत्काल लकडाउनको विषयमा आतंकित हुनुपर्दैन ।’

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न र पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे । उनले विज्ञहरूले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकाले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी पनि दिए । उनले माघको दोस्रो हप्तामा ६० वर्षमाथिको उमेर समूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आमनागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए ।

मन्त्री खतिवडाले स्वास्थ्य केन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे । कोरोना खोप लगाउन अस्पतालमा भिड भइरहेको प्रसंगमा मन्त्री खतिवडाले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भिड हुन नदिने बताए ।