सोमालियामा आत्मघाती कार बम विस्फोट, १० जनाको मृत्यु

 एजेन्सी, सोमालियाको राजधानी मोगादिसुमा बुधबार भएकोआत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दशजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा अन्य नौजना घाइते भएको अधिकारीहरूले बताएका छन् ।बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भने, ‘एक आत्मघाती बम आक्रमणकारीले अन्तर्राष्ट्रिय विमानस्थलनजिकै सैनिक समूहलाई लक्षित गरी गरेको हुन सक्ने आक्रमणमा पाँच सैनिकसहित १० जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’

मोगादिसुको ‘२१ अक्टुबर रोड’मा कारलाई सेनाको गाडीसँग ठक्कर दिई विस्फोट गराइएको उनले बताए । वार्डेयरले घटनास्थलमा सञ्चारकर्मीसँग भने, ‘हामीलाई घटनाबारे अहिले थप जानकारी भएको छैन । आक्रमणको निशाना कसलाई बनाइएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएकोले यसबारे थप जानकारी छिट्टै सार्वजनिक गरिनेछ ।’

घटनास्थलमा खिचिएका दृश्यहरूमा कालो धुवाँ निस्किरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीले केही गाडीहरू आगोले जलेकाे बताएकाे छ । उपगभर्नरले अल–साबाब आतंकवादीहरू यस आक्रमणको पछाडि रहेको बताए । प्रहरीले उनीहरूलाई पछ्याइरहेको छ र आक्रमणको उद्देश्य स्थापित गर्न पनि जाँच सुरु भएको छ । यसैबीच अल–साबाबले यस आक्रमणको लागि आफ्नो समूह जिम्मेवार भएको दाबी गरेको छ ।