उत्तर कोरियाद्वारा फेरि अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

सोल, उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका ज्वइन्ट चिफ अफ स्टाफले दाबी गरेको छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको बताइएको छ ।यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने बताइएको छ । जापानिज कोस्ट गार्ड (जेसीएस)ले यो क्षेप्यास्त्र मिसाइल हुन सक्ने बताएका हुन् । यसबारेमा अझै पनि यकीन भने हुन सकेको छैन । उत्तर कोरियाले प्रक्षेपण गरेको यो क्षेप्यास्त्रको बारेमा दक्षिण कोरिया र जापानले आवश्यक अनुसन्धान थालेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । मंगलबारको यस प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकी गुप्तचरहरूले अनुसन्धान गरिरहेको बताइएको छ ।

गतबुधबार उत्तर कोरियाले हाइपरसोनिक मिसाइल समुद्रतर्फ प्रक्षेपण गरेको थियो । यसै हप्ता उत्तर कोरियाले दुईवटा क्षेप्यास्त्र हानेको छ ।