बाँकेका सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियतको कार्यान्वयन गर्ने सहमती

नेपालगन्ज, बाँके जिल्लामा सन्चालित लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनमा विद्यार्थीलाई दिइने ४५ प्रतिशत सहुलियतको कार्यान्वयन गरिने भएको छ ।शनिवार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको सर्वपक्षीय वैठकले सहुलियतको कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रकाशन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारी केसीको अध्यक्षतामा आन्दोलनरत विद्यार्थी संगठन, यातायात व्यवसायी अन्य सरोकारवालाहरू बिच भएको छलफलले नेपाल सरकार, यातायात व्यवस्था विभागले गरेको निर्णय परिपत्रहरुलाई पालना गर्दै विद्यार्थी, अपाङ्ग, जेष्ठ नागरिकलाई तोकिएको दरले सहुलियत दिने व्यवस्थालाई कार्यान्वयन गर्न जिल्लामा सञ्चालन रहेका यातायात व्यवसायी, प्रा.ली लाई अनिवार्य लागु गर्ने निर्देशानुसार अनुरोध गरेको छ ।

साथै यातायात व्यवस्था क्षेत्रमा रहेका विविध विषयवस्तुको बारेमा तथा प्रदान गरिएको सहुलियतको सम्बन्धमा नियमीत रुपमा अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

सरकारले सार्वजनिक यातायातका क्षेत्रमा विद्यार्थीलाई ४५ प्रतिशत, ६० बर्ष उमेर पुगेका जेष्ठ नागरिक तथा अपाङ्गलाई आरक्षण सहित ५० प्रतिशत सहुलियत दिने निर्णय गरेपनी काठमाडौं उपत्यका बाहेकका जिल्लामा हाल सम्म पनि लागू हुन सकेको थिएन ।

केही दिनदेखी बाँकेमा सहुलियतको कार्यान्वयनका आन्दोलनरत विद्यार्थी संगठन विप्लव नेतृत्वको नेकपा निकटको अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौ) लगायत जिल्लामा क्रियाशिल विद्यार्थी संगठनले लागी चरणबद्ध रुपमा धर्ना सहितका कार्यक्रम गर्दै आएका थिए ।