एमसिसी ! एक्काइसौं सताब्दीको ईस्ट इण्डिया कम्पनी : धर्मेन्द्र बास्तोला

वर्तमान राजनिती प्रणाली असफल भैसक्यो

नेपालगन्ज, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले कुनै पनि हालतमा एमससिसी पास गर्न नहुने धारणा राखेका छन् ।आईतबार जनपत्रकार संगठन, नेपाल बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता बास्तोलाले एमसिसीलाई एक्काइसौं सताब्दीको इस्ट-इण्डिया कम्पनी भएको बताए ।

पार्टीका अन्तराष्ट्रिय विभाग प्रमुख समेत रहेका नेता बास्तोलाले एमसिसीलाई नेपालको संविधानमाथि राखेर अमेरिकी प्रान्त बनाएर चीनलाई घेराबन्दी गर्न नेपाललाई सैन्य परेड स्थल बनाउने दाउमा अमेरिका रहेको आरोप लगाए ।

‘नेपाल राष्ट्रलाई अमेरिकाको प्रान्तको रुपमा कब्जा गर्ने यस खालको षडयन्त्र एमसिसी मार्फत भइराखेको छ, एमसिसी पास गर्न प्रतिपक्ष र सत्तापक्ष सहमत भइरहेको देखिन्छ । नेपाल राष्ट्र नै यस कम्पनीको मातहतमा चल्नुपर्ने प्रावधान छ, जो ज्यादै खतरनाक छ’, उनले भने ।

एमसीसीका बुँदासँग नेपालको कानून बाझिएमा नेपालको कानून हुनेछ, बौद्धिक सम्पत्ति अमेरिकी सम्पत्ति मानिनेछ, एमसीसीमा काम गर्ने कर्मचारीको नागरिकता पासपोर्ट चेकजाँच गर्न पाइने छैन, एमसीएको रक्षा एमसीसी आफैंले गर्नेछ, एमसीसीको नोक्सान नेपालले तिर्नुपर्नेछ, एमसीसी अमेरिकाले बन्द गर्न चाहे एकै पटक बन्द गर्न सकिने छ तर नेपालले चाहेमा बन्द हुने छैन,‌ यो संसदबाट पास गर्नु पर्नेछ भन्ने जस्ता प्रावधानहरू रहेकाले यसलाई संसोधन हैन खारेज नै गर्नुपर्ने बताए ।

वर्तमान संसदीय प्रणाली असफल भइसकेको बताउँदै नेता बास्तोलाले वैज्ञानिक समाजवादका लागि जनमतसंग्रहको चुनाव गर्नुपर्ने बताए ।

शनिवार नेपाल कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागले नेपालगन्जमा विभिन्न सरोकारवाला निकायसँग बृहत अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो ।