मलामी बोकेको बस दुर्घटनामा ७ जनाको मृत्यु, १४ घाइते

पाल्पा, मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार भएको दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।बुटवल देवीनगर डिङगरनगरदेखि शव दाहसंस्कारका लागि रुरु क्षेत्र कालीगण्डकी रिडीका लागि जाँदैगरेको बस लघुवामा दुर्घटना भएको प्रहरीले जनाएको छ । बिहान साढे १० बजे लु १ ख ७२७९ नम्बरको बस ओरालो सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरू सबै पुरुष हुन् । उनीहरूका आफन्त नआइपुगेकाले सनाखत हुन नसकेको प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिए । अर्घाखाँचीको मालारानी गाउँपालिका–२, मरेङ कुभिण्डेका वीरबहादुर टमाटाको शव दाहसंस्कारका लागि रिडी लगिँदै थियो । घाइते कृष्णबहादुर नेपालीका अनुसार ओरालो र चिप्लो बाटोमा अचानक दुर्घटना भएको थियो ।

घुम्ती सडक भएको र सोही स्थानबाट बस खसेको बताइएको छ । घाइतेमध्ये लुम्बिनी मेडिकल कलेजमा ८ जना र युनाइटेड मिसन अस्पतालमा ६ जनाको उपचार भइरहेको छ ।

दुर्घटनामा घाइतेका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए । दुर्घटनाग्रस्त बसबाट तीनवटा शव बाहिर उछिट्टिएको थियो । चारवटा शव भने बसले किचेको अवस्थामा रहेकाले जेसीभी लगाएर निकाल्नु परेको थियो ।

घाइतेहरू बुटवल उपमहानगरपालिका–१७, का ३८ वर्षीय विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लाल बहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना–६, का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी–२, का ३७ वर्षीय रमेश टमटा रहेको प्रहरीले जनाएका छ ।

अर्घाखाँची डाँडाकटेरीका ५४ वर्षीय गोपाल नेपाली, सैनामैना–६, रूपन्देहीका २९ वर्षीय मीरा रामधान घाइते भएका छन् । बुटवलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दीपक विक र तुल्सी विक रहेका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । घाइतेहरूमा ७ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र ६ जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।