माओवादी महासचिवमा शक्ति बस्नेत

काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को महाधिवेशनबाट आज पदाधिकारीसहित केन्द्रीय समिति पारित हुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतवार पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाटै घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ । त्यसका लागि उनले पार्टीभित्रका प्रभावशाली नेताहरुसँगको छलफललाई जारी राखेका छन् । उनले आज १ बजे नेतृत्वको घोषणा गर्दैछन् । शनिवार बन्दसत्र स्थगित गरेर निर्वाचन कार्यतालिका संशोधन भएको थियो ।
यसपटक अध्यक्षमा प्रचण्ड नै दोहोरिने निश्चित भएको छ । स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुषाल, वर्षमान पुन, हरिबोल गजुरेल र मातृका यादव, महासचिवमा शक्ति बस्नेत, उपमहासचिवमा गिरिाजमणी पोखरेल र जनार्दन शर्मा र सचिवमा देवेन्द्र पौडेल, चक्रपाणी खनाल र राम कार्कीको नाम प्रस्ताव हुने तयारी छ । त्यसैगरी कोषाध्यमा देवेन्द्र पौडेलको सम्भावना बलियो छ ।
माओवादीमा मुख्यगरी महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनको लडाई थियो । अन्तिममा नेता बस्नेतले पनि महासचिवमा दावी गरेका थिए । पुन र शर्माको गुटबन्दी चर्को भएको भन्दै पार्टीलाई मजबुत बनाउन तेस्रो विकल्पमा जान अध्यक्ष प्रचण्डलाई नेताहरुले सुझाव दिएका थिए ।
माओवादी नेताहरु कृष्णबहादुर महरा, हरिबोल गजुरेल, सभामुख अग्नि सापकोटा, राम कार्की, चक्रपाणी खनाल, हितराज पाण्डे, देवेन्द्र पौडेललगायतले बस्नेतलाई महासचिव बनाउन अध्यक्ष दाहाललाई सुझाव दिएको बताइएको छ । महासचिवको प्रतिस्पर्धामा रहेका नेता पुनले समेत बस्नेतलाई समर्थन गर्ने बताए पनि शर्मालाई भने मनाउने प्रयास जारी छ ।
माओवादीमा केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट केन्द्रीय कमिटी सदस्यका लागि क्लस्टर अनुसारका नाम सिफारिस भैसकेका छन् । आज ११ बजे बस्ने स्थायी समिति बैठकले पदाधिकारीमा सहमति गरेर खुलातर्फ १४५ र समानुपातिकातर्फ सबै क्लस्टर मिलाएर १५४ जनाको नाम टुंगो लगाएर हलमा केन्द्रीय समिति र पदाधिकारी घोषणा हुनेछ ।