ऋषि कट्टेल नेतृत्वको नेकपाले राष्ट्रिय सम्मेलन जनकपुरमा हुने

जनकपुर । नेपाल कम्युनिष्ट पार्टीले जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा ऋषिराम कट्टेल नेतृत्वको नेकपाले प्रदेश २ को राजधानी जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिइएको हो ।बहुपदीय प्रणाली अनुसार नेतृत्व चयन गर्नका लागि यही पुस १७ देखि १९ सम्म राष्ट्रिय सम्मेलन गर्न लागेको सो पार्टीका संयोजक ऋषिराम कट्टेलले बताए । सम्मेलनको उद्घाटन भने नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन १५ सेप्टेम्बरमै भर्चुअल माध्यमबाट भइसकेको उनले जानकारी दिए ।

गत असोज, कार्तिक र मंसिर महिनामा प्रदेशस्तरीय ६ वटा समूह बनाएर राजनीतिक प्रतिवेदन, क्रान्तिको कार्यक्रम नयाँ जनवाद, विधान संशोधन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथि छलफल सम्पन्न भइसकेको उनले स्पष्ट पारे ।

पुस १७ देखि पुस १९ सम्म जनकपुरधाममा हुने राष्ट्रिय सम्मेलनमा ती प्रतिवेदनलाई पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको संयोजक कट्टेलले बताए ।

उनले एमसीसी देशका लागि घातक रहेकाले सो सम्झौता कार्यान्वयन नहुन दिनका लागि सबै एकजुट हुनुपर्ने बताए । चीनको बढ्दो शक्तिलाई निस्तेज गर्न र आफ्नो स्वार्थकै लागि अमेरिकाले नेपालमा एमसीसी कार्यान्वयनमा जोड दिएको दाबी गर्दै उनले एमसीसीको नाममा नेपाललाई अमेरिकाको रणनीतिक क्रिडास्थल बन्न दिन नहुने बताए ।