म्यानमारमा सेनाद्वारा ३५ भन्दा धेरै सर्वसाधारणको हत्या

एजेन्सी, बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘सेभ दि चिल्ड्रेन’ ले म्यानमारमा आफ्नो दुई कर्मचारी पछिल्लो दुई दिनदेखि बेपत्ता भएको जनाएको छ ।

लण्डनस्थित सेभ दि चिल्ड्रेन मुख्यालयले म्यानमारको सेनाले शुक्रबार काया राज्यबाट ३५ भन्दा धेरैलाई चरमपन्थी भन्दै हत्या गरेको छ र उक्त शव जलाइएको आरोप लगाएको छ ।

यस घटनामा कम्तिमा पनि ३८ जना मारिएको र जसमध्ये धेरैको शव फेला पारेको उसको दाबी छ । संस्थाले विज्ञप्तिमा भनेको छ, ‘काया राज्यमा सेनाले मानिसलाई उनीहरुको कारबाट निकालेर गिरफ्तार गरेको छ र उनीहरुलाई मारेर जलाइदिएको छ।’

मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेको दाबी गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना दुई हराएका कर्मचारी संस्थाको मानवीय काम पूरा गरेपछि छुट्टीमा घर जाँदै थिए । उनीहरु दुई सेनाको कारबाहीमा पक्राउ परेका र त्यस समयदेखि हराइरहेका जनाइएको छ ।

तर, म्यानमारको सेनाले भने मारिने सबै चरमपन्थी भएको दाबी गरेको छ । सेनाले उक्त क्षेत्रमा हतियारधारी चरमपन्थी मारिएको दाबी गरेको हो ।