राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबारबाट काठमाडौँमा गर्ने भनेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बेलुका बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । यद्यपि उक्त निर्णय आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि मात्रै स्थायी कमिटीको निर्णयले वैधानिकता पाउनेछ ।

‘राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णय प्रस्तावका रूपमा आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुन्छ, उक्त प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरे सम्मेलन महाधिवेशनमा परिणत हुन्छ, नभए जे भनिएको छ त्यही हुन्छ’ स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले रातोपाटीलाई बताए ।

स्थायी कमिटी बैठकपछि शनिबार साँझ पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता कृष्णबहादुर पनि महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई सोझै महाधिवेशनमा लैजाने बताएका थिए । स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न आइतबार बिहान ८ बजे केन्द्रीय कमिटी बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ ।