माओवादी केन्द्र महाधिवेशन सुरक्षा : एसपीको कमाण्डमा ३५० प्रहरी परिचालन

कमाण्ड पोष्टबाट एसएसपीले निगरानी गर्ने

काठमाडौँ । माओवादी केन्द्रको महाधिवेशन आज आइतबार काठमाडौँमा सुरु हुँदैछ । प्रज्ञा भवनमा पुस ११ देखी १५ सम्म चल्ने सम्मेलनको सुरक्षाका लागी महानगरीय प्रहरी परिसर काठमाडौँले एसपी दिनेशराज मैनालीलाई सम्मेलन स्थलमा खटाउने भएको छ । मैनाली बाहेक सम्मेलन स्थलमा ३ जना डिएसपी खटिन्छन् । महाधिवेशन सुरक्षाको रिजर्भ टिममा थप ३ जना डिएसपी सहितको फौज स्ट्याडबाई राखिएको छ ।प्रहरी परिसर काठमाडौँले सम्मेलन स्थलमा ३५० भन्दा बढी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ । महाधिवेशन स्थलको सुरक्षा व्यवस्थाको निगरानीका लागी महानगरीय प्रहरी कार्यालयमा कमाण्ड पोष्ट बनाइएको छ ।

सम्मेलनमा एसपीको कमाण्डमा फौज परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले बताए । उनले भने–‘समग्र सुरक्षा व्यवस्थाको मोनिटर चाहिँ मैले गर्छु ।’

महाधिवेशनमा महानगरीय प्रहरी वृत कमलपोखरीका डिएसपी मीनबहादुर कुँवर, दरबारमार्गमा डिएसपी विश्वराज खड्का र परिसरका अप्रेसन कमाण्डर (डिएसपी) सुधीर राज शाही सम्मेलन अवधिभर खटिन्छन् ।

माओवादीको महाधिवेशन १५ सय प्रतिनिधि सहभागी हुँदैछन् । बन्द सत्र प्रज्ञा भवन र कोटेश्वर स्थित पेरिसडाँडामा हुँदैछ । सहभागी सङ्ख्या थोरै भएकाले नेपाली काँग्रेस र नेकपा एमालेको महाधिवेशनमा भन्दा माओवादीको सम्मेलनमा कम सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको उद्घाटन गर्दै छन् । पुस १२ देखी बन्द सत्र सुरु हुनेछ । महाधिवेशनमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै छन् । यही सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

नेकपा माओवादी केन्द्रले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटि भयो भन्ने विषयमा समीक्षा गर्ने जनाएको छ । सो आत्मसमीक्षा आफूबाटै सुरु गर्ने अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रम मार्फत उद्घोष गरेका छन् ।