पेले अस्पतालबाट डिस्चार्ज

साओ पाउलो : ब्राजिलका महान् फुटबलर पेले साओ पाउलोको अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको कोलोन ट्युमरको उपचार भने जारी रहनेछ।

एदसन अरान्तेस दो नासिमेन्तोलाई बिहीबार इसरेलिता अलबर्तो आइन्स्ताइन अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ। भनिएको छ, ‘विरामीको अवस्था स्थिर छ र कोलोन ट्युमरको उपचार जारी छ।’

पेले डिसेम्बरको सुरुमा केमोथेरापीका लागि अस्पताल भर्ना भएका थिए। यसअघि ट्युमर निकाल्न गरिएको शल्यक्रियाका कारण उनी एक महिनादेखि अस्पतालमै थिए।​

पेलेले शुक्रबार आफ्नो युवावस्थाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै भने, ‘यो मुस्कुराएको तस्बिर एउटा कारण हो। मैले भनेजस्तै म मेरो परिवारसँग क्रिसमस मनाउनेछु। म घर आउँदै छु। शुभकामनाका लागि सबैलाई धन्यवाद।’