एमसीसी अगाडि बढ्छ : गृहमन्त्री

काठमाडौँ, गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका हुन् । उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए ।

उनले भने, ‘एमसीसी पूर्ववर्ती सरकारकै पालामै अगाडि बढेको हो । यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएको हो । नेपाल सरकार र एमसीसी परियोजनाको बीचमा धेरै वर्ष अगाडि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो ।’

गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारे । सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनले बताए ।

उनले भन्नुभयो, ‘एमसीसीको बारेमा केही भ्रम पनि होलान् । यो अमेरिकी सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसै अन्तर्गत नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको पनि ट्रान्समिसन स्थापनाका लागि र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । त्यसलाई उहाँहरुले स्वीकार गर्नुभएको हो । यो निशर्त अनुदान हो ।एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो ।’

उनले एमसीसी संसद्‌बाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरुबीचमा छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडी बढ्ने बताए । उनले भने, ‘दलहरुका बीचमा छलफल भइरहेको छ । छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडि बढ्छ ।’