आफ्नै छोरी बलात्कार गर्ने व्यक्तिको चार किशोरले मिलेर गरे हत्या

नयाँदिल्ली, भारतको बेङ्गलुरुमा ४६ वर्षीय पुरुषको हत्या आरोपमा प्रहरीले चार किशोरलाई पक्राउ गरेको छ ।

बीबीसी हिन्दीका अनुसार आफ्नी १७ वर्षीया छोरीलाई दुई वर्षदेखि लगातार बलात्कार गरेको आरोपमा उनीहरूले ती पुरुषको हत्या गरेका हुन् । अभियुक्त सबै पीडित बालिकाका सहपाठी रहेको बताइएको छ ।

रिपोर्टका अनुसार मृतककी छोरीले आफ्ना कक्षाका एक साथीलाई गत हप्ता आफ्ना बुबाले फेरि बलात्कार गर्न खोजेको गुनासो गरेकी थिइन् । त्यही क्रममा उनकी आमा गृहनगर कलबुर्गी गएकी थिइन् । बालिकाका बुबा बैंगलोरको एउटा इन्स्टिच्युटमा सेक्युरिटी म्यानेजरका रूपमा काम गर्थे । बालिकाले बलात्कारको कुरा जुन सहपाठीलाई बताएकी थिइन्, उनले आफ्ना कक्षाका थप तीन जना साथीलाई हत्यामा संलग्न गराएको आरोप छ ।

उनीहरू सबैले गत आइतबार अबेर राति घरमै गएर ती व्यक्तिको हत्या गरेका हुन् । उनीहरू पुगेपछि पीडित किशोरीले ढोका खोलेकी थिइन् । त्यसपछि ती चार किशोरले ती किशोरीका बुवालाई बन्चरो र अन्य धारिलो हतियारले हानेर हत्या गरेका हुन् ।