उपचार खर्च तिर्न नसक्दा अस्पतालको तीन तलाबाट हामफालेर बिरामीले गरे आत्महत्या

मोरङ, मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन् । उपचारका लागि भर्ना भएका धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।

मंसिर ४ गते भर्ना भएका मण्डललाई अस्पतालले मंसिर ७ गते डिस्चार्ज गरे पनि उपचार खर्च १९ हजार रुपैयाँ तिर्न नसक्दा घर जान नपाएको आफन्त कृष्ण मण्डलले बताए । शुक्रबार बिहान करिब ६ बजे अस्पतालबाट हामफालेका मण्डलको उपचारका क्रममा बिहान करिब ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार छारे रोगको उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । उपचार खर्च ३६ हजार लागेकामा मण्डल परिवारले १९ हजार तिर्न बाँकी अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको उनले बताए । मण्डलको उपचारका क्रममा ३६ हजार बिल उठेको थियो । सो मध्ये १९ हजार रूपैयाँ तिर्न बाँकी थियो ।

उपचारमा खटिएका नर्सले रोक्ने प्रयास गर्दा गर्दै मण्डलले हामफालेको अस्पतालका प्रशासकीय अधिकृत मेहताले बताए ।

मण्डलको कुरुवा उनकी सासु बसेकी थिइन् । प्रहरीका अनुसार सासु शौचालय गएका बेला मण्डलले अस्पतालबाटै हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मण्डलको मृत्यु भएपछि आफन्तले क्षतिपूर्ति माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।