अनियमितताको आरोपमा विद्यालयका प्रधानध्यापकलाई दलियो कालोमोसो

जाजरकोट, विद्यालयमा चरम अनियमितता गरेको भन्दैँ विद्यालयका प्रधानध्यापकलाई कालोमोसो दलिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले जाजरकोटको नलगाड नगरपालिका-१२ तल्लुबजारमा रहेको विरेन्द्र हिमालय माध्यामिक विद्यालयका प्राधानध्यापक चन्द्र बहादुर केसीलाई कालोमोसो दलेको हो ।

विद्यालयमा विभिन्न क्षेत्रमा आउने बजेटमा चरम भ्रष्टचार गरेर शिक्षा क्षेत्रलाई कमाई खाने भाँडो बनाएको कारण चेतावनी स्वरुप कालोमोसो दलेर जनकारवाही गरिएको अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जाजरकोट इन्चार्ज विराजन शाहीले जानकारी दिए ।

विभिन्न समयमा बनाइएका विद्यालयका भवनमा गुणस्तरहिन सामाग्रीको प्रयोग गरी भ्रष्टचार गरेको, नगरपालिकाको बजेटमा निर्माण भएको शौचालय नियम अनुसार निर्माण नगरेको, प्रदेश सरकारबाट विद्यालयको कम्पाउण्ड निर्माणमा आएको २० लाखको बजेटमा पाँच लाखमा ठेक्का दिएर १५ लाख हिनामिना गरेको, कक्षा ६ देखि १२ सम्मको विद्यार्थीको लागि विज्ञान सामाग्री खरिद अनियमितता गरेको कारण कारवाही गरिएको पनि उनले जानकारी दिए ।

यस्तै, ३२ लाखको आईसिटी वापत प्राप्त रकममा हिनामिना गरेको, छोटो अवधिको तालिम संञ्चालन वाफत कृर्ते हस्ताक्षर गरी रकम हिनामिना, आ.व. २०७२-०७३ देखि यताको छात्रबृत्ति, पाठ्यपुस्तकको लगायत विभिन्न शिर्षकमा आएको रकमम प्राधानध्यापक केसीले हिनामिना गरेको उनको आरोप छ ।

विद्यालयका प्रधानध्यापकलाई विभिन्न समयमा ध्यानाकर्षण गराउँदा समेत अटेरी गरेपछि बाध्य भएर चेतावनी स्वरुप कारबाही गरिएको नेता शाहीले बताए । उनले शिक्षा क्षेत्रलाई बदनाम गर्ने र बिगार्ने अन्य व्यक्तिहरुपनि सङ्गठनले कारबाहीको निशानामा राखेको उनले बताए ।