मन्त्री गहतराजद्धारा कोहलपुरमा महिला क्रिकेट एकेडेमीको शिलान्यास

कोहलपुर, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’को शिलान्यास गरेका छन ।बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन ।

मन्त्री नियुक्त भएलगत्तै उनले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने उद्घोष गरेका थिए । तिन दिने जिल्ला भ्रमणमा निस्कीएका मन्त्री अथकले आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्ने क्रममा आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन ।

शिलान्यास कार्याक्रममा बोल्दै अथकले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताए । एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं मन्त्री अथकले आफ्नै कार्यकालमा पुर्वाधार निर्माणको प्रक्रिया सुरु गरीने प्रतिवद्धता जनाए ।

रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने एकेडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरीएको उल्लेख गर्दै मन्त्री अथकले भने, “यो बहुवर्षिय योजना हो, आगामी ३ वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालै पुर्वाधार निर्माणको काम अगाडी बढाईन्छ ।” एकेडेमीको संरचना अनुसार क्रमशः बजेट बढ्दै जाने उनले बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारी तथा ईन्जिनियरको टोली सहित कोहलपुर पुगेका मन्त्री अथकले त्यसक्रममा निर्माणाधिन अवस्थामा रहेको कोहलपुर क्रिकेट मैदानको समेत अनुगमन गरेका थिए । मन्त्री अथकले आजै नेपालगन्जस्थित रंगशालको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।