कांग्रेस अधिवेशनको लागि विद्यालय बन्द

बैतडी, कांग्रेसको जिल्ला अधिवेशनका लागि भन्दै बैतडीको दशरथचन्द नगरपालिकाले चार विद्यालयलाई तीन दिन पठनपाठन बन्द गर्न भनेको छ ।नगरपालिकाले सदरमुकाम आसपासका वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुंगा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई पठनपाठन बन्द गरी भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरेको हो ।

दशरथचन्द नगर प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा बैतडीमा कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि मंसिर ५ देखि तीन दिनसम्म विद्यालय बन्द गर्न भनिएको छ । वीरेन्द्र माविका प्राचार्य कैलाश कनौजियाले विद्यालयलाई पत्र आइसकेपछि यस विषयमा जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाइएको जानकारी दिए ।

‘बुधबार ३ बजेतिर पालिकाको स्थानीय बिदामा कटाउने गरी तीन दिन विद्यालय बन्द गर्ने भनेर पत्र आएको थियो । विद्यालयले यसरी बन्द गराउन नमिल्ने होला भनेर हामीले माथिल्लो निकायलाई पत्र पठाएका छौं । भोलिसम्म जवाफ आउला,’ उनले भने । कांग्रेसको बैतडी जिल्ला कार्य समितिले पनि वीरेन्द्र माविलाई चार दिनका लागि विद्यालय भवन र फर्निचर उपलब्ध गराइदिन छुट्टै पत्र लेखेको छ ।