ललितपुरमा ग्यास सिलिण्डर विस्फोट, ४ को मृत्यु, २ जना घाइते

काठमाडौँ, शुक्रबार साँझ ललितपुरको मंगलबजारस्थित एक घरमा ग्यास सिलिण्डर विष्फाेट हुँदा चार जनाको मृत्यु भएको छ। आगलागीबाट दुई जना घाइते भएका छन्।स्थानीय लक्ष्मीकृष्ण ताम्राकारको चार तले कच्ची घरमा आगलागी हुँदा लक्ष्मीकृष्णसहित, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले जानकारी दिए। 

प्रहरीका अनुसार मृत्यु हुनेमा निरज ताम्राकारकाे बुबा, दिदी, श्रीमती र छाेरा हुन्। प्रहरीले विष्फोट आवाज आएकाले ग्यासको सिलिण्डर विष्फोट भएको हुन सक्ने जनाएको छ।

ललितपुर प्रहरी प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बेलुकी पौने सात बजेतिर घरमा विष्फोटको आवाज आएलगत्तै आगलागी भएको बताइन्।

उनले घरमा कति जना थिए भन्ने एकिन नभएको बताइन्। ‘घर भित्रबाट चार जनाको शव निकालिएको छ, दुई जना हामफालेर घाइते भएका छन्’ बज्राचार्यले भनिन्, ‘नेवार समूदायको म्हः पूजा मनाउँने दिन भएकाले नातेदारहरू पनि आएको भन्ने सुनिएको छ तर एकिन भएको छैन।’

चार तले काठको कच्ची घर रहेको र साँघुरो गल्ली भएकाले दमकल छिर्न नसकेको उनले बताइन्। आगाे नियन्त्रणमा आइसकेकाे उनले जानकारी दिइन्। घाइतेकाे पाटन अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।