कर्णालीको मुख्यमन्त्रीमा शाहीको दाबी पेस

सुर्खेत, कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् ।कांग्रेस संसदीय दलका नेता शाहीले २१ सांसदको समर्थनसहित मंगलबार कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

उनले नेकपा माओवादीका १२, कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादी) का ३ सहित २१ जना सांसदको समर्थनमा मंगलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका हुन् ।

कर्णाली प्रदेशसभा ३५ सदस्यीय छ । बहुमतका लागि १८ सांसद आवश्यक पर्छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार बेलुका साढे ७ बजेसम्मका लागि मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

शाहीले नेपालको संविधानको धारा १६८ (२) बमोजिम आफूलाई बहुमत रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ३ दलको निर्णयअनुसार शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेको कांग्रेस सचेतक हिमबहादुर शाहीले बताए ।

प्रदेशसभामा रहेका बहुमत सदस्यहरुको समर्थनमा शाहीले दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा दाबी गरेका शाहीको शपथ ग्रहण मंगलबार राति साढे ८ बजे गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्री शाहीले शपथ ग्रहण गरे पनि अरु मन्त्रीले भने १/२ दिनमा शपथ ग्रहण गर्ने सचेतक शाहीले बताए ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा दाबी गरेका शाहीको शपथ ग्रहण मंगलबार राति साढे ८ बजे गर्ने तयारी गरेको छ । मुख्यमन्त्री शाहीले शपथ ग्रहण गरेपनि अरु मन्त्रीले भने १/२ दिनमा शपथ ग्रहण गर्ने सचेतक शाहीले बताए ।