को नक्कली, को सक्कली ?

काठमाडौं, करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपाल दुवैले एकले अर्कालाई नक्कली कम्युनिस्टको आक्षेप लगाइरहेका छन् ।

वामपन्थीको सरकार ढालेर कांग्रेसलगायतका पार्टीसँग मिली दक्षिणपन्थी सरकार बनाउन पहल गरेको र संसदीय इतिहासमा सबैभन्दा कलंकित भएकाले नेपाल नक्कली कम्युनिस्ट भएको ओलीको तर्क छ । गत असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि ओलीले नेपाललाई गद्दार र नक्कली कम्युनिस्टको आरोप लगाए, त्यसयता पनि दोहोर्‍याउँदै आएका छन् ।

ओलीले संविधान मिच्न खोजेको विश्लेषण गर्दै नेपालले देउवालाई प्रधानमन्त्री बनाउन मोर्चाबन्दी गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । यसै कारण नेपालसँग ओली बढ्ता चिढिएका हुन् ।

अर्कोतिर नेपालले ओली र उनले नेतृत्व गरेको एमाले नै नक्कली कम्युनिस्ट भएको आरोप लगाएका छन्। नेपालले शनिबार एक कार्यक्रममा सक्कली र नक्कली गरी नेपालमा दुई प्रकारका कम्युनिस्ट पार्टी रहेको बताए । सँगसँगै उनले ओली नेतृत्वको एमाले नक्कली कम्युनिस्ट भएको आरोप लगाए । ‘समाजवादी पार्टी देशभक्त पार्टी हो,’ उनले भने, ‘एकीकृत समाजवादी ओली नेतृत्वको एमालेले जस्तो मध्यरातमा विदेशी कूटनीतिज्ञसँग छलफल गर्ने पार्टी होइन ।

एमाले नक्कली कम्युनिस्ट पार्टी भइसकेको छ । अहिले सूर्यमा ग्रहण लागिसकेकाले त्यसको भविष्य छैन। त्यसैले हामीमात्र सक्कली कम्युनिस्ट पार्टी हौं ।’ बलयगाडा चढेर अमेरिका नपुगिने र राजतन्त्र फाल्न नसकिने भनाइ राखेका ओलीको तानाशाही प्रवृत्तिका कारण एमाले सिद्धिएको दाबी पनि नेपालले गरेका थिए । अध्यक्ष नेपालले आगामी निर्वाचनमा नक्कली कम्युनिस्टलाई जनताले भोट नदिने र केही दिनमा ओली र उनको पार्टीलाई टर्च बालेर खोज्नु पर्ने, बताएका थिए ।

ओलीले पनि नेपाललाई उछित्तो काढेर गाली गर्ने गरेका छन् । एमाले विभाजनको केही दिनपछि भदौ २२ मा ओलीले नेपाललाई ‘कुहिएको फर्सी’को संज्ञा दिएका थिए । उनले त्यति बेला नेपालले सैद्धान्तिक कुरा नगरेको, मानसम्मान नपुगेको मात्रै कुरा गरेको दाबी गर्दै भित्रभित्रै फर्सी कुहिएपछि कसको के लाग्छ र भनेका थिए । प्रधानमन्त्रीबाट बाहिरिएको दिन उनले नेपाललाई गद्दार घोषणा गरेका थिए । त्यसपछि पनि उनले नेपाललाई झरेको पात, लाल गद्दार जस्ता संज्ञा दिँदै आएका छन् ।

एमालेको दसौं महाधिवेशनको मिति नजिकिँदै गर्दा ओलीले नेपालमाथि पार्टी विभाजनको दोष थोपर्न खोजेका छन् । एमाले देशव्यापी रूपमा वडा अधिवेशन, पालिका अधिवेशन सिध्याएर प्रतिनिधि छनोट चरणमा प्रवेश गरेको छ । आउँदो महाधिवेशनमा सर्वसम्मत अध्यक्ष हुने तयारीमा रहेका ओलीले विभाजनको दोष र नेकपा असफल हुनुमा माधव नेपाल एक मात्र कारण रहेको पुष्टि गर्न खोजेका छन् ।

नेपालले भने विभाजनको दोषी ओलीलाई बताइरहेका छन् । उनी अब हुने निर्वाचनमा एमाले र ओलीलाई एक्लो बनाउने तयारीमा छन् । १५ वर्षसम्म एमालेको नेतृत्व गरेका नेपाल नवौं महाधिवेशनमा ओलीसँग पराजित भएपछि पार्टीभित्र पेलिएका थिए । ओलीले २०७४ सालमा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर आफ्नो समूहका प्रभावशाली नेतालाई टिकट नदिई पेलेपछि नेपाल झन् चिढिएका थिए ।

२०७५ जेठ ३ गते एमाले–माओवादी केन्द्रबीच एकीकरण भएपछि ओलीले पुष्पकमल दाहालसँग मिलेर नेपाल समूहलाई पेलेरै जाने नीति बनाए । ओलीले दाहाललाई समेत पेलेर जाने नीति लिएपछि दाहाल–नेपाल मिलेर ओलीलाई पेल्न खोज्दा पार्टीभित्र विग्रह उत्पन्न भयो । त्यो विग्रह पार्टी विभाजनसम्म पुगेपछि ओली नेतृत्वको सरकार ढल्यो ।

सरकार ढल्नुमा सबैभन्दा बढी दोष नेपालकै रहेको भन्दै ओलीले उनीमाथि संसदीय व्यवस्थाको कलंक भएको आरोप लगाउने गरेका छन् । उता नेपालले ओलीलाई दक्षिणपन्थी, गणतन्त्र र संघीयता विरोधी भएको, कम्युनिस्ट आचरणबाट विचलित भएको आरोप लगाइरहेका छन् । यो आरोप–प्रत्यारोप आगामी निर्वाचनसम्म नै निरन्तर चल्ने सम्भावना छ । नागरिक दैनिकबाट