मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने गठबन्धनको निर्णय

मुख्यमन्त्रीमा राजेन्द्र राईको सम्भावना बलियो

मोरङ, प्रदेश–१ को विपक्षी गठबन्धले मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ । भोलि (सोमबार) बस्ने प्रदेशसभा बैठकको पूर्व सन्ध्यामा विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका नेता सहभागी थिए । मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए । तर, मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो । त्यतिबेला कांग्रेस र एमालेले बैठक सार्न लिखित निवेदन दिएका थिए । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सोमबारको बैठकको विषयमा कार्यसूची तय भइसकेकाले कार्य व्यवस्था नबस्ने बरु सदनको कारबाही शुरु हुने बताए ।

प्रदेश–१ मा ९२ सांसद छन् । बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेका ४१ सांसद छन् । विपक्षी गठनबन्धनमा ५० सांसद छन् । नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाका एक सांसद कतै खुलेका छैनन् ।

भोलि (सोमबार) बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वास मतको प्रस्तावको विपक्षमा गठबन्धनका सबै प्रदेश सांसद्ले मतदान गर्ने र दलीय गठबन्धनको संस्कारलाई अझै मजबुत बनाएर अघि बढ्ने दुई बुँदे निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जनाए ।

आलोपालो नेतृत्वको विषयमा पार्टीभित्र संघर्ष गरिरहेको र अहिले तत्काल केन्द्रीय गठबन्धनले गरेको निर्णयअनुसार नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठन गर्ने तयारी रहेको कार्कीले बताए ।

‘प्रदेश–१ मा सोमबार सरकार परिवर्तन हुन्छ’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले कात्तिक १५ गतेपछि प्रदेश–१ मा सरकार परिवर्तन हुने बताएका छन् । उनले परिवर्तित सरकार गठनबन्धनको हुने र त्यसको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई बन्ने बताए ।

सुनसरीको धरान आएका स्वास्थ्य राज्यमन्त्री खापुङले उपमहानगरपालिकामा आइतबार आयोजत भेटघाट कार्यक्रममा भने, ‘प्रदेश–१ मा मुख्यमन्त्री नियुक्तिका बेलादेखि नै भीम आचार्य अल्पमतमा परिसकेकाले कात्तिक १५ पछि गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । तर गठनबन्धन सरकारमा आलोपालो मुख्यमन्त्री मन्त्री बन्ने भन्नेबारे मलाई जानकारी छैन ।’