खेलकुद मन्त्री गहतराजद्वारा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी खेलाडीको बिदाई

काठमाडौं, आईबा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी बक्सिङ टाेलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ले बिदाई गर्नुभएकाे छ ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे अध्यक्षतामा सिहंदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयकाे सभा हलमामा आयाेजित बिदाई कार्यक्रममा खेलकुद मन्त्री अथकले खेलाडी, प्रशिक्षक र टिम म्यानेजर सहितकाे टाेलीलाई सफल यात्रा र जितकाे शुभकामना दिदै बिदाई गर्नुभएकाे हाे ।

मन्त्री अथकले राष्ट्रिय खेलकुद परिषद मातहत करिव दुई सयकाे हाराहारीमा खेलकुद संघहरु रहेपनि नयाँ खेलाडीहरु ननिस्कनु र खेलकुदमा खेलाडीले आफ्नाे भविष्य देख्ने वातावरण नबन्नुमा दु:ख लागेकाे बताउनु भयाे । खेलाडीहरु राष्ट्रकाे पहिचान हाे, गहना हाे भन्ने र खेल पश्चात् अर्काे व्यवहार गर्ने कार्य भएकाेले यसलाई राेक्दै खेलभित्रै खेलाडीकाे भविष्य सुनिश्चित गर्न लागिपर्ने बताउनु भयाे । खेलाडीहरुलाई ढुक्क भएर खेल खेल्न र विजयी बन्न शुभकामना दिदै तपाईहरुकाे भबिश्य उज्यालो बनाउन आवश्यक नयाँ कार्यक्रम ल्याउनेमा ढुक्क र विश्वस्त हुन अनुराेध समेत गर्नुभयाे ।

अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) काे ७५ वर्षकाे वार्षिक उत्सबकाे अबसरमा सर्वियाकाे राजधानी बेलग्रेड शहरमा अक्टोबर २५ देखि नाेभेम्बर ६ तारिख सम्म संचालन हुने २१ अाैँ वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे नेतृत्व सहित मुख्य प्रशिक्षक प्रकाश थापामगर र प्रशिक्षक किशोर लिम्बु, अफिसीयल्समा नेपाल बक्सिङ्ग संघका सदस्यहरु मान बहादुर भण्डारी र प्रनिर अधिकारी सहभागी हुनेछन् । बक्सिङ्ग टोली आज राती १०ः३० बजे फलाई दुवई एरलाईसबाट प्रस्थान गर्ने प्रवक्ता श्यामकाजी अवालेले प्रेस बक्तव्य मार्फत जानकारी गराउनुभएकाे छ ।

नेपाल बक्सिङ्ग संघले गठन गरेको छनोट समितीको प्रतिवेदन अनुसार छनोट गरिएको प्रतियोगिताबाट उत्कृष्ट ४८ के.जी. तौल समुहमा रविन थापा, ५७ के.जी. तौल समुहमा पुरन राई, ६३.५ के.जी. तौल समुहमा भुपेन्द्र थापा र ६७ के.जी. तौल समुहमा सनिल साहीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । सहभागी मध्ये भुपेन्द्र थापा र सनिल साही १३ अाै दक्षिण एशियाली प्रतियोगिताका स्वर्ण पदक विजेता हुन् ।

विश्वका १०५ राष्ट्रको १३ वटा तोल समुहमा ६५० जना खेलाडीहरुको सहभागीता रहेको उक्त बृहत बक्सिङ्ग प्रतियोगिताको प्रत्येक तौल समुहमा स्वर्ण पदकको लागी एक लाख डलर, रजत पदकको लागी पचास हजार डलर र काश्य पदक जित्ने दुर्ई जनाको लागी पच्चीस – पच्चिस हजार डलर पुरस्कारको साथै मेडल, प्रमाण पत्र र च्याम्पीयनसिप वेल्टको व्यवस्था गरिएको छ ।

खेलाडी बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव, राखेप सदस्य एकेन्द्र कुबर, नेपाल बक्सिङ संघका उपाध्यक्ष भाेजराज सिटौला, सदस्यहरु अाेलम्पियन राम बहादुर गिरी, श्यामकाजी अवाले, प्रनिल अधिकारी, मुख्य प्रशिक्षक प्रकाश थापामगर, टेक्निकल कमिटीका संयाेजक तथा आईबा थ्री स्टारकाेच दीपक महर्जन, अाेलम्पियन तथा बरिस्ठ बक्सिङ प्रशिक्षक प्रबिन तुलाधर, आईबा वन स्टार रेफ्री रामचन्द्र थापामगर, आईबा वन स्टार रेफ्री तथा अखिल नेपाल खेलकुद महासंघका सचिव धनकुमार मैनाली, लगाएत खेल सम्बन्धि ब्यक्तिहरु र खेलाडीहरुकाे उपस्थिति रहेकाे थियाे ।

सहभागी टाेलीलाई नेपाल बक्सिङ्ग संघ उपाध्यक्ष भोजराज सिटौलाले एक जोर ट्रकसुट, ८ औँ साग स्वर्ण पदक बिजेता रामचन्द्र थापानगरले भेष्ट र होसन्ना चिन्नी भट्टा उद्योगले खेलाडीहरुको रिङ्ग ड्रेस दुई-दुई सेट प्रायोजन समेत गरेकाे छ ।