यसकारण भीम रावलले दिए कार्यदलबाट राजीनामा

काठमाडौं, नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

उपाध्यक्ष रावलले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेर कार्यदलबाट राजीनामा दिएका हुन् ।

शुक्रबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले आफ्नो पाँच पृष्ठ लामो फरक मत प्रस्तुत गर्दै कार्यदल संयोजकमा नरहने जानकारी दिएका हुन् । अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने गरी प्रस्तुत भएपछि स्थायी कमिटी बैठकमा कार्यदल संयोजकबाट राजीनामा दिएको रावलले बताए ।

उनले भने, ‘अन्त्यमा अध्यक्षले १० बुँदेलगायत हामीले निकालेका निष्कर्ष कार्यान्वयन नगर्ने दिशाबाट कुरा राख्नुभएकाले मेरो त्यसमा सहमति हुन सकेन । मैले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु ।’

उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् । प्रभु साहलाई खुसी बनाउन स्थायी कमिटी बैठकले दुई जनालाई केन्द्रीय सदस्यमा बनाउने निर्णय गरेको थियो ।