नेपाली फिल्म ‘एक्स ९’ मा बलिउड कलाकार सुनिल शेट्टी !

काठमाडौं, ‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको नयाँ फिल्म हो । अनमोल केसी मुख्य भूमिकामा रहने फिल्ममा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल र अनुपविक्रम शाहीको समेत अभिनय रहनेछ । फिल्म निर्माण अगाडि नै कलाकारको कारणले चर्चा छ । निर्देशक भट्ट फिल्मलाई बलियो बनाउन बलिउड कलाकारसम्म पुगेका छन् ।केही अगाडि यो फिल्मको नेगेटिभ भूमिकाको लागि बलिउड नायक सोनु सुदलाई अफर गरिएको सार्वजनिक गरेका निर्देशक भट्टले अहिले फिल्मका लागि सुनिल शेट्टी फाइनल भएको जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा अभिनेता सुनिल शेट्टीसँगको तस्बिर पोष्ट गर्दै ‘एक्स ९’ का लागि शेट्टी फाइनल भएको जनाएका हुन् । उनले उक्त पोष्टमा फिल्मको छिट्टै घोषणा गर्ने समेत जनाएका छन् ।

क्यानडा, यूरोप र नेपालमा छायाँकन हुने बताइएको फिल्मको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । राजिव तामाङ, वीरेन कुँवर, सुवोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्म २०७९ को दसैँमा रिलिज हुने निर्माण युनिटले जनाएको छ ।