हिरासतमा रहेका थुनुवाको मृत्यु हुदा प्रहरी र स्थानीयबीच झडप

प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते

सुनसरी, प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ।

पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि झडप समेत भएको छ। ढुंगामुडापछि प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जनभन्दा बढी अश्रुग्यास समेत प्रहार गरेको छ।

झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएको प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए। प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन्। उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छ।

प्रहरी उपरीक्षक थापाले सिसिटिभी क्यामेरामा स्पष्ट हात्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए। उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताए।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन पटक पटक प्रयास गरे पनि उग्र बनेको समूह प्रहरीमाथि जाइलागेको थियो। झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ।

अहिले कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दा पक्राउ परेका भोक्राहा–५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए। पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीतिक लादिएको बताएका छन्। उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन।