क्रान्तिकारी ट्रेड युनियन महासंघको अध्यक्षमा बिनोद थापा

४५ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले बिनोद थापाको नेतृत्वमा केन्द्रीय समिति गठन गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी महासंघले थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति गठन गरेको जानकारी दिएको हो । असोज १६ देखि १८ गते काभ्रेमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको अध्यक्ष थापाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नवनिर्वाचित केन्द्रीय अध्यक्ष थापाले नेपालको कानुन श्रमिकको विरुद्धमा भएको बताए । पुँजीपति वर्गको शोषणमा पिसिँदै आएको लाखौ श्रमिक वर्गको उचित ज्याला ट्रेड युनियनले हक र सामाजिक संस्थाको ग्यारेन्टी, श्रमिकहरुको पेशागत तथा राजनैतिक हक अधिकारलाई केन्द्रमा राखेर आफूहरुले सम्मेलनको आयोजना गरेको जानकारी दिए ।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना ऐनका श्रमिक हितबिरोधी प्रावधानहरु श्रम ऐन २०४८ को दफा १४७ तत्काल खारेज गर्न र सोही ऐनको दफा १४५ माथि ध्यानाकृष्ट गर्दै विद्यमान रुपमा रहेको ट्रेड युनियन कानुन २०४९ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ मा रहेका श्रमिक हितविरोधी प्रावधान हटाउन बिद्रोहको लहर सिर्जना गर्ने उद्देश्यसमेत उक्त सम्मेलनले लिएको स्मरण गराए ।

मजदुर विरुद्धका सरकारका प्रत्येक कदमलाई ट्रेड युनियनले असहयोग गर्ने उनले चेतावनी दिए ।