नेपालगन्जको जमुनाह नाका आजबाट पुर्णरुपमा सुचारू 

नेपालगन्ज, बाँके नेपालगन्जको जमुनाह नाका आजबाट खुलेको छ । पश्चिम नेपालको ठुलो तथा महत्वपूर्ण मानिएको नेपालगन्जको जमुनाह नाका आईतबारदेखी पूर्ण रुपमा संचालनमा आएको हो ।

कोरोना महामारीका कारण केही समयदेखी नाकामा पैदलयात्रुलाई आउजाउ गर्ने बाहेक पुर्ण रुपमा बन्द रहेको थियो ।
नाका खुलेसँगै नेपाली नम्बर प्लेटका गाडीहरु रुपैडिया जान र भारतीय नम्वर प्लेटका प्राइभेट सवारी साधन पनि आउन दिइएको जमुनाह प्रहरीले जनाएको छ ।

कोरोना प्रभावपछि भारतीय सवारी नेपाल प्रवेश र नेपाली सवारी भारत प्रवेशमा रोक लगाउँदै आइएको थियो । विगतमा खाद्यान्न लगायतका सामग्री बोक्ने सवारी साधन निर्वाध रुपमा सञ्चालन भएपनि निजी गाडी नेपाल प्रवेशमा भने रोक लगाइएको थियो ।

गत ११ गते बसेको संघीय मन्त्री परिषद्को बैठकले विभिन्न मापदण्ड पुरा गरेर भारतीय नीजि सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जमुनाह नाका भएर पनि सवारी साधन संचालनको अनुमति दिने निर्णय भएको हो ।

नाका खुलेपनि भारतबाट आउने नागरिकको हकमा भने ७२ घण्टे पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।