पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह सर्वसम्मत चयन भएकी छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले अखिल (क्रान्तिकारी)का अध्यक्षका दाबेदारहरू सहित हालका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए ।

दाहाल निवास खुमलटारको आइतबारको बैठकमा सिंहलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउने सहमति भएको दाहालको सचिवालयले जानकारी दियो । सिंह अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष हुन् ।

अखिल क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, पञ्चा सिंह, विजय गौतम, तीलकराज भण्डारी र दीपक देवकोटाले आकांक्षा देखाएका थिए । तर, अन्तिममा सिंहको नाममा सहमति भएको हो । माओवादी केन्द्रको शनिबारको बैठकले क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा दाहाललाई दिएको थियो ।

असोज १४ गते सुरु क्रान्तिकारीको २२ औँ सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन शनिबार नै पारित भएको थियो ।

अखिल क्रान्तिकारीले अब २५ सदस्यीय पदाधिकारी र १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने नीति लिएको छ । यसअघि क्रान्तिकारीको केन्द्रीय कमिटीमा २ सय ४३ जना थिए । अब अध्यक्ष १, उपाध्यक्ष ३ खुला र ४ समावेशी, महासचिव १ हुनेछन् भने २ उपमहासचिव हुनेछन् । उपत्यका विशेष प्रदेशसहित ७ प्रदेशबाट १-१ गरी ८ जना सचिव हुनेछन् । थप ५ समावेशी सचिव बनाउने अधिवेशनले पारित गरेको छ । १ कोषाध्यक्ष हुनेछ ।

उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा क-कसलाई जिम्मेवारी दिने भन्नेबारे अहिले छलफल भइरहेको सिंहले जानकारी दिएकी छन् । उनले क्रान्तिकारीका सबै पदाधिकारी र केन्द्रीय कमिटी सर्वसम्मत हुने र राष्ट्रिय सम्मेलनका प्रतिनिधिले नै पारित गर्ने बताइन् ।