माओवादी एकताको प्रस्ताव गर्ने प्रचण्डलाई विप्लवको जवाफ- पहिले संसदीय राजनीति त त्याग्नुस

सबैसँग एकता, सहकार्य गरेर अगाडि बढ्न तयार छौँ

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कडा जवाफ फर्काएका छन् ।पार्टी एकता गर्न प्रचण्डले गरेको प्रस्तावमा विप्लवले पहिला संसदीय राजनीति परित्याग गरेर आउन आग्रह गरेका छन् । सबैसँग एकताका लागि आफूहरु तयार रहेको भन्दै विप्लवले पहिलो सर्त संसदीय व्यवस्था अन्त्यका लागि तयार हुन पर्ने बताए ।

नेकपा निकट मजदुर संगठनको राष्ट्रिय सम्मेलनलाई काभ्रेमा सम्बोधन गर्दै विप्लवले सबैसँग एकता, सहकार्य गरेर अगाडि बढ्न नेकपा तयार रहेको बताए ।

उनले भने,‘हामी सबैसँग एकता गरेर जान तयार छौँ । त्यसका लागि दलाल संसदीय व्यवस्थाबाट बाहिर आउनु पर्यो । जनताको व्यवस्था स्थापित गर्नका लागि सघर्ष गर्न तयार हुन पर्यो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक मन्चबाट पार्टी एकताका लागि विप्लवलाई प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको प्रतिउत्तरमा विप्लवले प्रचण्डलाई पहिला कुहिएको, मक्कीएको, गनाएको संसदीय व्यवस्थाबाट बाहिरिएर आउन आग्रह गरे ।

विप्लवले ६५ प्रतिशत कम्युनिस्ट समर्थक भएको देशमा फेरी पनि संसदीय राजनीति गरेर बसेको भन्दै प्रचण्डको चर्को आलोचना गरे ।

नेपाल जनताले वैज्ञानिक समाजवाद चाहेको भन्दै विप्लवले त्यसका लागि जनताको गणतन्त्र, मजदुरको व्यवस्था, किसानको व्यवस्था स्थापनाका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताए ।

‘हामी हाम्रो लागि मात्र संघर्ष गरेका छैनौँ । हामीले लडेर ल्याएको व्यवस्थामा कांग्रेसले समान अधिकार पाउँछ, हामीले पनि समान अधिकार पाउँछौँ ।’ विप्लवले भने ।

उनले अगाडि भने,‘हामी हाम्रा लागि मात्र लडेको होइन, कांग्रेसका लागि पनि लडेको हो, एमालेका लागि पनि लडेको हो, माओवादीका लागि पनि लडेको हो ।’

‘हामीलाई दमन गर्ने, हाम्रो विरोध गर्नेहरुका लागि पनि लडेको हो । त्यसैले तपाईहरु पनि हाम्रो अभियानमा जोडिनुहोस् । संगै संघर्ष गरौँ । र हाम्रो व्यवस्था स्थापना गरौँ ।’ विप्लवले भने ।