जब तीन वटा बाघले घेराबन्दी गरेपछि…

तीन जनाको सकुशल उद्धार

नेपालगञ्ज, बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्धार गरिएको छ ।गाभर निवासी अन्दाजी ५६ बर्षका सेतु ओली, २५ बर्षीया हिरा खड्का, र २४ बर्षीया कालिका खड्कालाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो ।

भैंसी र बाख्रा चराउन जंगल गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए ।

बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्तीले दिउँसो उद्धार गरेको हो । बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरि माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिए ।

बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घेरेको भन्ने जानकारी आएपछि त्यस तर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिए ।