नवीनको परिवारलाई आर्थिक सहयोग

काठमाडौं, राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।

न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा-आमा दुवै क्यान्सर रोगबाट पीडित छन् ।

कोषका सदस्य सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले न्यौपानेलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

कोषले समस्यामा परेका खेलाडी तथा उनका परिवारलाई कोषमा सन्चित रकमको ब्याचबाट आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । २०६५ सालमा कोष स्थापना भएपनि २०६८ मा कार्यविधि बनेपछि मात्र कोषमा १ करोड जम्मा गरिएको थियो । हाल कोषमा १ करोड ४० लाख रुपैयाँ रहेको र त्यसैको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउदै आएको श्रेष्ठले जानकारी गराए ।

विनाशकारी भूकम्प गएको वर्ष २०७२ मा कोषले सबै भन्दा बढी २७ लाख आर्थिक सहयोग वितरण गरेको थियो । त्यसबेला भूकम्पका कारण ज्यान गुमाएका र घर पूर्ण रुपमा क्षति भएका सम्बन्धितलाई आर्थिक सहयोग वितरण गरिएको थियो ।