अस्ताउनु अगाडि केही गर्न मन लाग्यो साथ दिनुहोला : प्रचण्ड

पार्टीमा काम गर्ने कोही नभएकोमा गुनासो

काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्ताउनु अगाडि केही काम गर्न मन लागेको भन्दै साथ दिन आग्रह गरेका छन्।

भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन सम्बोधन गर्दै प्रचण्डले क्रान्तिबाट जनतालाई गरिएको परिवर्तनको विषयमा देशभर प्रचार गर्न आवश्यक रहेको बताए।

डेढ घण्टा सम्बोधन गरेका प्रचण्डले पटक पटक विद्यार्थी र योङ कम्युनिष्ट लिग (वाईसीएल) ले नै माओवादी जोगाउन सक्ने बताए।

निकै भावुक रुपमा प्रस्तुत भएका प्रचण्डले मार्मिक शब्द प्रयोग गरेर भाषण अन्त्य गरेका थिए। ‘अस्ताउनु अगाडि केही काम गर्न मन लाग्यो साथ दिनुहोला,’ प्रचण्डले भने।

पार्टीमा काम गर्ने कोही नभएकोमा उनले गुनासो गरे। नाम नलिइकन प्रचण्डले घेराबन्दी गर्ने काम पार्टीभित्रबाट पनि भएको बताए।

‘बाहिर चाहिँ प्रचण्डबाट अब केही हुँदैन है, अब हाम्रो अर्को तयारी भन्दै हिँड्ने, मैले हाम्रा साथीहरु देखेको छु,’ प्रचण्डले भने, ‘तर, यसो हेर्छु अहँ कसैले केही गर्ने देखिँदैन। पार्टी चलाउने देखिए त म किताब लेखेर बस्थेँ।’