क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा

काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले पदबाट राजीनामा दिएका हुन् ।

‘आजको मितिबाट हामी क्यानबाट अलग हुने निर्णय लिएका छौं । आजसम्मको सहयोगको लागि धन्यवाद,’ प्याकुरेलले भने । प्याकुरेलले क्रिकेट उपलब्धिको लामो यात्रा रहेको बताउँदै आफूहरु क्यानमा नरहने बताए । उनले अहिले नै आफूहरु आउने वा न आउने केही निर्णय नभएको र बाहिरै बसेर क्रिकेटको विकासका लागि काम गर्ने बताए । यस्तै उनले पद ओगटेर बस्नेभन्दा काम गर्न अन्यलाई स्थान दिने बताए ।

मंगलबार क्यान कार्यसमिति आएको दुई बर्ष पूरा भएको थियो । दुई वर्षअघि ११ मंसिरमा चतुरबहादुर चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । क्यानका प्रवक्ता समेत रहेका प्याकुरेलको अध्यक्ष चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहसँग सम्बन्ध विग्रिएको चर्चा छ ।