सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाए : कोमल वली

काठमाडौं, राष्ट्रिय सभा सदस्य कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई बिरामी बनाएको आरोप लगाएकी छिन्। बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले यस्तो बताएकी हुन्।

रोग बढ्दै गयो भने सिटामोल, इन्जेक्सन, एन्टिबायोटिकले पनि नभ्याउने भन्दै उनले अप्रेसन नै गर्नुपर्ने टिप्पणी गरिन्। सभामुखले सभामुखको कुर्सीको महत्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको उनले बताइन्।

‘कुनै पनि व्यक्तिलाई चिनी रोग भयो भने र त्यसलाई समयमै नियन्त्रण गरिएन भने त्यसका कारण धेरै रोगहरू उत्पन्न हुन्छन्, धेरै रोगहरू जन्मन्छन्। जसरी एउटा छालाबाट ज्याकेट बन्छ, ब्याग, बेल्ट, जुत्ता बन्छ, त्यसरी नै प्रतिनिधिसभाको कमजोरीका कारणले अन्य धेरै रियाक्सनहरू उत्पन्न हुन सक्छन्, त्यो रियाक्सन रोक्न र त्योबाट उत्पन्न हुने खतरा रोक्नका लागि सभामुख इमानदार हुनुपर्छ, सभामुखज्यूले त्यो कुर्सीको महत्व राख्न सक्नुपर्छ।

महत्व राख्न नसक्नुका कारण, नियम पालना नगर्नुका कारणले गर्दा राष्ट्रिय सभामा त्यसको असर पर्‍याे र विभाजन हुन पुग्यो। अहिले प्रतिनिधिसभालाई सभामुखज्यूले बिरामी बनाउनुभएको छ। सभामुखज्यूकै कारणले यो रोग बढ्दै गयो भने सिटामोल, इन्जेक्सन, एन्टिबायोटिकले पनि भ्याउँदैन र अप्रेसन नै गर्नुपर्छ,’ सांसद वलीले भनिन्।