लोसपाले संविधान दिवसलाई कालोदिनको रुपमा मनाउने

काठमाडौँ, लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ । अहिलेको संविधान अपूर्ण भएकाले त्यसको संशोधनको माग गर्दै देशभर कालो दिनका रुपमा मनाउने निर्णय भएको नेता केशवकुमार झाले जानकारी दिए ।‘हामीले सुरु देखि नै संशोधनको माग गरेका हौं । तर ६ वर्ष भइसक्यो । अहिलेसम्म हाम्रो मागको सुनुवाई भएको छैन । संविधानमा अहिलेसम्म पनि संशोधन भएको छैन,’ उनले भने, ‘त्यसैले हामीले संशोधन माग गर्दै देशभर कालोदिनको रुपमा मनाउने र संविधानको पूर्णताका विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेका छौँ ।’

उनका अनुसार पार्टीको वाग्मती प्रदेश समितिले बबरमहलस्थित केन्द्रीय कार्यालयमा ‘शहिदको बलिदानी एवं संविधानको पूर्णता’ विषयक बृहत विचार गोष्ठी आयोजना गरेको छ । ‘हामीले सबै प्रदेश र जिल्लामा पनि विचार गोष्ठीहरु गर्न आह्वान गरेका छौं, त्यस्तो गोष्ठीहरुमा पार्टीका नेताहरुले सम्बोधन गर्नुहुन्छ,’ नेता झाले भने ।