बिरेन्द्रनगरबाट रेडपाण्डाको छालासहित चार पक्राउ

बिरेन्द्रनगर, सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । शुक्रबार वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

पक्राउ पर्नेमा रास्कोट नगरपालिका-८, कालीकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका-६, दैलेखका ३३ को विष्णु रावत, नारायण नगरपालिका-१०, दैलेखका २१ वर्षीय पूर्णबहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरीले जनाएको छ ।

बयानका क्रममा उनीहरूले आफूहरू छाला पुर्‍याउनमात्र आएको बताएको प्रहरी निरीक्षक शाहीले बताए । यसका लागि उनीहरूले ५० हजार रूपैयाँ लिने सहमति गरेको बयानका क्रममा खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।