बर्दिया राष्ट्रिय निकुञ्ज खुला

बर्दिया, साढे चार महिनादेखि बन्द बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुला गरिएको छ । निकुञ्ज खुला भएसँगै ठाकुरद्वारा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । कोरोना संक्रमण बढेसँगै गत वैशाख १५ गतेदेखि निकुञ्ज बन्द गरिएको थियो ।पर्यटन व्यवसायीका अनुसार निकुञ्ज खोलिने जानकारी पाएका आन्तरिक पर्यटकले होटल बुकिङ र सोधपुछ गर्न थालेका छन् । निकुञ्ज खुल्नुअगावै यहाँका होटल सरसफाइसहित सिंगारिएका छन् ।

निकुञ्ज खुला भएपछि आर्थिक रूपमा केही राहत मिल्ने पर्यटन व्यवसायीले बताए । स्वास्थ्य मापदण्ड अपनाएर निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले पर्यटकका लागि जंगल सफारी, र्‍याफटिङ र जंगल वाक गर्न अनुमति दिएको बताए ।