बादलको गर्जन- तीन वर्षमा पार्टीभित्र पुँजीवाद हाबी भयो

दक्षिणपन्थीहरु अलग भए

काठमाडौँ, नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारासँग दक्षिणपन्थी धारा पराजित बनेको बताएका छन् ।उनले कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै नेकपा एकीकरणको तीन वर्षमा पार्टीभित्र पुँजीवाद हाबी भएका कारण कम्युनिष्ट नेतृत्वको सरकार विस्थापित भएको बताए ।

‘यो तीन वर्षको अवधिमा पार्टीभित्र पुँजीवाद हाबी हुन पुग्यो । त्यसपछि त्यो पुँजीवादी, दक्षिणपन्थी जो शक्ति थियो, त्यसले पुँजीवादी, दक्षिणपन्थी पार्टीहरुसँग सहकार्य गर्दै उनीहरुले कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई अपदस्त गर्न सफल भए । अदालतको परमादेशबाट र पार्टीभित्रको पुँजीवादी, दक्षिणपन्थी धाराहरुको अन्तरघातबाट नयाँ सरकार बनेको छ,’ नेकपा एमाले काठमाडौंको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले भने, ‘त्यो दक्षिणपन्थी धारा पार्टीबाट अलग भएको छ । यहाँसम्म आइपुग्दा खेरि पार्टीभित्रको आन्तरिक शक्ति संघर्षमा पार्टीभित्रको समाजवादी धारा दक्षिणपन्थी धारालाई पराजित गर्न सफल भएको छ ।’

नेता थापाले कम्युनिष्ट पार्टीको नेतृत्वलाई षडयन्त्रपुर्वक ढंगले मुलुकको सत्ताबाट विस्थापित गरिएको बताए । ‘निश्चयपनि यो एउटा षड्यन्त्र हो, यो एउटा राजनीतिक प्रतिगमन हो, प्रतिक्रान्ति हो । यो प्रतिक्रान्तिलाई, पश्चगमनलाई परास्त गर्नेछौँ,’ थापाले अघि भने, ‘नेकपा एमालेको नेतृत्वमा आगामी दिनमा अब वर्ग संघर्षबाट राजकीय सत्तामा नेकपा एमालेलाई पुन: स्थापित गर्ने कुरामा अघि बढ्नेछौँ । र त्यसको निम्ति हामीले कम्युनिष्ट पार्टी र नेतृत्वलाई सुदृढ गर्नुपर्ने हुन्छ ।’