३ किलो सुनका गहनासहित २ पक्राउ

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानतर्फको ब्यागेज क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।३ किलो ३ सय ६० ग्राम सुनका गहना भेटिएपछि कैलालीको बर्दगोरिया–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम–२ का ४७ वर्षीय मुरारीराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

श्री एयरलाइन्सको उडानद्वारा विराटनगर जान लागेका उनीहरुको ब्याग एक्सरे मेसिनमा जाँच गर्दा सुनका गहना भेटिएका थिए ।

भण्डारीको साथबाट २२ क्यारेटको ५ सय १५ ग्राम र अधिकारीको साथबाट २४ क्यारेटको ५ सय ९७ ग्राम, २२ क्यारेटको १ हजार ५ सय ५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६ सय ९६ ग्राम सुनका गहना बरामद भएपछि दुवैले त्यो वैध रहेको प्रमाण देखाउन नसकेकाले सोमबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

सुनसहित उनीहरुलाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।