एमसिसी परियोजना राष्ट्रियतामाथिको हमला : विप्लव

भाद्र २८ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमसिसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले एमसिसी तीन–चार वर्षअघि सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भन्दै सरकारले एमसिसीजस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसद्बाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए। सबै नेपाली नागरिक सम्झौताविरुद्ध आन्दोलित भइरहेको वेलामा विभिन्न प्रपञ्च रचेर सरकारले एमसिसी पास गर्न लागेको भन्दै उनले यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिस्ट पार्टीलाई स्वीकार्य नहुने बताए ।

प्रवक्ता प्रकाण्डले भने, ‘अहिले फेरि एकपटक हाम्रो राष्ट्रियतामाथि एउटा ठूलो हमला भइरहेको छ, एमसिसीको मुद्दा मुखरित भएर। आजको तीन–चार वर्षअगाडि यसलाई सम्पन्न गर्ने उद्देश्यका साथ अमेरिकी शासक वर्गले ल्याएको प्रोजेक्ट हो यो। त्यो वेला प्रधानमन्त्री शेरबहादुर देउवाकै सरकार थियो। नेपाली जनताले अहिलेसम्म त्यसको विरोध गरिरहेका छन्। तर, पनि एमसिसी पास गर्न सरकारले विभिन्न प्रपञ्च रचिरहेको छ। यदि पास भएमा हाम्रो नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनतालाई स्वीकार्य हुँदैन।’

सरकारले संसद् बोलाएर एमसिसी तत्काल पास गर्ने योजना बनाइरहेकाले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रीकृत रूपमा नेतृत्व प्रदान गर्न एकहप्ते संघर्षको कार्यक्रम राखेको बताउँदै प्रकाण्डले भाद्र २८ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने बताए ।