नेपालका १५ वटा बैंक ह्याक गर्ने चेतावनी

काठमाडौं,नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने भन्दै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको खुलाशा भएको छ । ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने चेतावनी छ ।

सोही पत्र राष्ट्र बैंकका सह-प्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि आएको उनीहरूले जानकारी दिए । प्रवक्ता ढकाललाई बिहीबार बिहान अमेरिकाबाट टेलिफोन गरेर राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक गर्न लागिएको जानकारी आएको हो ।

‘अंग्रेजीमा भाषामा राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक हुँदैछ भनेर फोन काट्यो,उनले भने, ‘यसबारे हामी हिजोदेखि नै सचेत छौँ। सबै बैंकको सिस्टम चेक गर्न र सम्भावित जोखिम न्यूनीकरण निम्ति उपाय अपनाउन आग्रह गरेका छौँ ।’ इमेलमार्फत पत्र र टेलिफोन कल आएकोबारे जानकारी सरोकारवाला समक्ष पुर्‍याएर सचेत हुन आग्रह गरिएको ढकालले जानकारी दिए ।