मनाङेलाई कारबाही गर्न राखेपको माग

काठमाडौं,गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति लक्षित गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मन्त्री गुरुङमाथि कारवाही गर्न माग गरेको छ।समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव रमेश सिलवाल र बोर्ड सदस्य गुरुङप्रति अमर्यादित टिप्पणी गरेको भन्दै राखेपले मनाङेलाई कानुनअनुसारको कारबाही गर्न माग गरेको हो।

‘प्रदेश मन्त्रीजस्तो सार्वजनिक र महत्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्तिबाट कसैप्रति यस्तो अभिव्यक्ति आउनु भत्र्सनायोग्य कुरा हो, राखेपका निमित्त सदस्यसचिव पुरेन्द्रविक्रम लाखेले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘माननीय मन्त्रीज्यूबाट समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव र बोर्ड सदस्यप्रति अमर्यादित टिप्पणी आउनु खेदजनक छ । यसले सम्पूर्ण नेपाली खेलकुदको अपमान भएको महसुस हामीले गरेका छौं ।

यस्तो भनेका थिए मनाङेले 

मन्त्रीको शपथ लिएलगत्तै मनाङेले सञ्चारमाध्यमहरूलाई दिएको एक अन्तर्वार्तामा राखेप सदस्य सचिव सिलवाल पोखरा आउँदा बोर्ड सदस्य गुरुङले रक्सी र युवतीको बन्दोबस्त गर्ने गरेको आरोप लगाएका छन् ।राखेप सदस्य सचिव सिलवाल र बोर्ड सदस्य राजेश गुरुङको सम्बन्धबारे मनाङेले भनेका छन्, ‘सिलवाल र यसको (राजेश गुरुङ)को सम्बन्ध राम्रो रहेछ । सिलवाल फेरि कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागल हुने । यिनीहरुले सबै प्रोभाइड गर्ने ।’

सिलवाल पोखरा आउँदा मोजमस्ती गर्न पाउने भएकाले राखेपले राजेश गुरुङलाई गण्डकी प्रदेशको सरकारी सम्पत्ति भोगचलन गर्न पाउने भनेर पत्र दिएको मनाङेको दाबी छ।मनाङेको यो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।