निषेधाज्ञामा होटल–रेष्टुरेन्टलाई टेकअवे सेवाको अनुमति

काठमाडौं,कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजबाट थप एक साता लम्बिएको निषेधाज्ञा अघिल्लो पटकको भन्दा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनेसँगै उपत्यकामा मानिसहरुको चहलपहल बढिरहेको छ।संक्रमण दर घट्दै गएकाले निषेधाज्ञा खुकुलो बनाउने निर्णय उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको थियो ।

सो निर्णयअनुसार आजबाट होटल, रेष्टुराँहरुलाई टेकअवे सेवा सन्चालन गर्न अनुमति दिइएको छ। काठमाडौं उपत्यकाभित्र अनलाइन तथा टेकअवे होम डेलिभरी सेवा साँझ ७ बजेसम्म मात्र सन्चालनको अनुमति दिइएको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आजबाट तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ। औषधि, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल, डिपार्टमेन्टल (ग्रोसरी) खोल्न पाइने छ । तरकारी र फलफूल थोक बजारमा फुटकर बेच्न भने रोक लगाइएको छ।

नयाँ शैक्षिक सत्र सुरु भएकाले पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि खोल्न दिने निर्णय गरिएको छ। यी सेवा बिहान ११ बजेसम्म खुल्नेछन्।अपरान्ह ४ बजेपछि निर्माण सामग्री ९हार्डवेयर० पसल पनि खोल्न दिने निर्णय भएको छ। कृषि, मल, बीउ, कृषि औजारका पसल खोल्न पनि अनुमति दिइएको छ।कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। हाल ७५ जिल्लामा निषेधाज्ञा कायम छ।

काठमाडौं उपत्यकाकासहित १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्म थप गरिएको छ। गृह मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर, बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ।